बादलको ‘बालेन्द्रतन्त्र’ टिप्पणीमा संसद् तात्यो, समीक्षाले उठाइन् संविधानको प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको राजनीतिक चरित्र र विपक्षीप्रतिको व्यवहारलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तीखो आरोप–प्रत्यारोप भएको छ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको कार्यशैलीलाई ‘अधिनायकवाद’सँग जोड्दै कडा आलोचना गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले त्यसप्रति नियमापत्ति जनाइन् ।

संसद्मा बोल्दै थापाले बालेन्द्र शाह नेतृत्वको सरकारको छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका क्षेत्रमा गम्भीर संकट देखिएको दाबी गरे । सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा समेत ‘खतरनाक विचलन’ आएको उनको आरोप थियो ।

थापाले वर्तमान सरकारको कार्यशैलीलाई विगतका निरंकुश शासनसँग तुलना गर्दै ‘बालेन्द्रतन्त्र’ को संज्ञा दिए । उनले २०१७ सालको महेन्द्रतन्त्र र २०६१ सालको ज्ञानेन्द्रतन्त्रजस्तै अहिले पनि अधिनायकवादी प्रवृत्ति देखिन थालेको आरोप लगाए ।

‘बालेन सरकारको स्वेच्छाचारी र अधिनायकवाद अध्यादेशबाट सुरु भयो । अधिनायकवादी शासकमा चरम महत्त्वाकांक्षा प्रकट भइरहेका छन्,’ थापाले भने ।

सरकारमाथि प्रश्न उठाउने क्रममा उनले विपक्षीहरूप्रति सरकारको व्यवहारसमेत आलोचना गरे । ‘१८२ तले काँचको घरमा बसेर ढुंगा नहान,’ भन्दै थापाले सरकारलाई आफ्ना कमजोरी र कार्यशैली सच्याउन चेतावनी दिए ।

उनले सरकार पुनर्गठनको मागसमेत अघि सारे । रवि लामिछानेको नेतृत्वमा सरकार पुनर्गठन गर्नुपर्ने धारणा राख्दै थापाले वर्तमान सरकार नसच्चिए ‘ठूलो परिवर्तनको आँधीबेहरी’ आउने चेतावनी दिए ।

थापाको आलोचनाको अर्को केन्द्र सरकारको विदेश नीति र तिब्बती मामिला बन्यो । उनले टीओबी तथा पश्चिमी कूटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सवका नाममा राजनीतिक गतिविधि गर्न अनुमति दिएको दाबी गर्दै यसले नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा प्रश्न उठाएको बताए ।

चीनको चासोपछि नेपालमा आयोजना हुने भनिएको एउटा अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको दाबीसमेत उनले गरे । नेपालमा रहेका निर्वासित तिब्बती समुदायलाई राजनीतिक शरणार्थीको मान्यता नभएको उल्लेख गर्दै थापाले तिब्बती गुम्बा र हतियारसँग जोडिएका केही आशंकासमेत संसद्मा प्रस्तुत गरे ।

तर, थापाको अभिव्यक्तिपछि रास्वपा सांसद बास्कोटाले नियमापत्ति जनाउँदै सरकारलाई ‘बालेन्द्रतन्त्र’ का रूपमा चित्रण गर्ने शैलीप्रति आपत्ति जनाइन् ।

बास्कोटाले राजनीतिक दल कुनै व्यक्ति वा समूहको ठेक्का नभएको भन्दै वर्तमान सरकार नागरिकको मतबाट बनेको स्मरण गराइन् । उनले विपक्षी दलले नै मतदाताको निर्णयमाथि प्रश्न उठाइरहेको आरोप लगाइन् ।

‘नागरिकले मत दिनुभयो । ठाउँमा पुर्‍याउनुभयो । सरकार निर्माण भयो । लोकतन्त्रको उपहास हामीले होइन, विपक्षीले मतदाताको उपहास गरिरहेका छन्,’ उनले भनिन् ।

बास्कोटाले थापालाई संविधानको मर्मअनुसार राजनीतिक अभिव्यक्ति दिन आग्रह गर्दै शाही शासनसँग तुलना गर्ने शैलीप्रति असन्तुष्टि जनाइन् । उनले संविधान पढ्नसमेत थापालाई आग्रह गरिन् ।

बुधबारको बैठकमा देखिएको यो जुहारी केवल सरकारको आलोचना र प्रतिवादमा सीमित रहेन । थापाले सरकारको कार्यशैलीलाई अधिनायकवादसँग जोडेर राजनीतिक परिवर्तनको चेतावनी दिए भने बास्कोटाले त्यस्तो आरोपलाई जनमत र संवैधानिक व्यवस्थासँग जोडेर प्रतिवाद गरिन् ।

यसले प्रतिनिधिसभामा सरकारको आलोचना गर्ने विपक्षीको अधिकारसँगै जनमतबाट बनेको सरकारको वैधानिकता र त्यसलाई हेर्ने राजनीतिक दृष्टिकोणबीचको बहसलाई समेत सतहमा ल्याएको छ ।

प्रतिक्रिया