काठमाडौं, जेनजी आन्दोलनका क्रममा भएको हिंसा र ध्वंसलाई राजनीतिक मुद्दा बनाउँदै नेकपा एमालेले आन्दोलनको एक वर्षपछि विरोध कार्यक्रम आयोजना गर्ने भएको छ। एमालेले घटनाको एक वर्ष पूरा भएको अवसरमा भोलि भक्तपुरको गुण्डुबाट ‘भण्डाफोर तथा विरोध’ कार्यक्रम गर्न लागेको हो।
एमाले सचिव महेश बस्नेतको जलेको घरको प्राङ्गणमा आयोजना हुने कार्यक्रम बिहान साढे ७ बजेदेखि सुरु हुनेछ। आयोजकले कार्यक्रममार्फत गत वर्ष भदौ २४ गते भएका घटनाका क्रममा भएको हिंसा, तोडफोड र सार्वजनिक तथा निजी संरचनामा पुगेको क्षतिबारे जानकारी गराउने जनाएको छ।
एमालेले कार्यक्रमको नाम नै ‘२०८२ भदौ २४ गतेको राष्ट्रमाथिको आक्रमणका विरुद्ध भण्डाफोर तथा विरोध कार्यक्रम’ राखेको छ। यसमार्फत एमालेले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउने तयारी गरेको देखिन्छ।
गत वर्ष भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि बढ्दै जाँदा सिंहदरबार, संसद् भवनलगायतका संरचनामा तोडफोड र आगजनी भएको थियो। आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको थियो।
आन्दोलनकै क्रममा एमाले सचिव बस्नेतको गुण्डुस्थित घरमा समेत आगजनी भएको थियो। सोही स्थानलाई कार्यक्रमस्थल बनाएर एमालेले एक वर्षपछि घटनाको विरोध गर्न लागेको हो।
एमालेले आन्दोलनका क्रममा भएका घटनालाई गम्भीर राजनीतिक तथा सामाजिक विषयका रूपमा उठाउँदै त्यसको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताउँदै आएको छ। भोलिको कार्यक्रममार्फत पार्टीले गत वर्षका घटनामाथि आफ्नो धारणा सार्वजनिक गर्दै त्यसविरुद्ध राजनीतिक दबाब बढाउने संकेत गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार