रसुवा बाढीपहिरो : ८ जिल्लामा ४६९ शव फेला, चितवनमा मात्रै १७८
१२ भदौ २०८३, शुक्रबार प्रकाशित
काठमाडौं, रसुवा बाढीपहिरोपछि विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म जारी गरेको बुलेटिनअनुसार आठ जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै १७८ वटा छन्। त्यसपछि नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।
त्यस्तै, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ तथा रसुवामा १२ जनाको शव फेला परेको प्रहरी बुलेटिनमा उल्लेख छ।
जिल्लागत विवरणअनुसार फेला परेका शवको संख्या चितवन र नवलपरासी पूर्वमा बढी देखिएको छ। तर यो तथ्यांकले मृत्यु भएको स्थान वा कुन जिल्लामा सबैभन्दा धेरै मानिसको मृत्यु भयो भन्ने निष्कर्ष भने दिँदैन। यो केवल विभिन्न स्थानमा खोज तथा उद्धारका क्रममा फेला परेका शवको विवरण हो।
प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। थप शव फेला पर्दै जाँदा मृतकको विवरणमा समेत परिवर्तन हुन सक्नेछ।