एक वर्षपछि जलेको घरमा फर्किँदा राधिकाको पीडा : ‘मेरा सपनाहरू पनि खरानी भए’

काठमाडौं । एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित निवासमा बुधबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य पुगिन्। लामो समयपछि आफ्नै घरको भग्नावशेषमा उभिँदा उनी भावुक मात्र भइनन्, वर्षौँदेखि सँगालेका आफ्ना सपना पनि त्यही आगोमा जलेको पीडा सुनाइन्।

निवासमा आयोजित कार्यक्रममा शाक्यले घरमा रहेका स्वदेशी तथा विदेशी उपहार, पुस्तक र आफूले वर्षौँ लगाएर संकलन गरेका सामग्री आगजनीमा नष्ट भएको बताइन्। ती सामग्रीलाई व्यवस्थित गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको योजना थियो।

आफ्नो शेषपछि ती सम्पत्ति राष्ट्रका नाममा हुने गरी व्यवस्था गरिसकेको बताउँदै उनले त्यसलाई आकर्षक संग्रहालयका रूपमा विकास गर्ने उद्देश्यले ठूलो रकम खर्च गरेर सामग्री सजाउँदै आएको सुनाइन्।

‘स्वदेशी र विदेशी उपहारहरू सम्भवतः नेपालमै सबैभन्दा बढी यो घरमा थियो। ती सबै सामानको संग्रहालय बनाउन खर्च गर्दै जोडेका सपना पनि जले,’ शाक्यले भनिन्।

उनका अनुसार घरमा रहेका करिब १० हजार पुस्तकलाई व्यवस्थित गरेर सार्वजनिक पुस्तकालय बनाउने योजना पनि थियो। नयाँ पुस्ताका लागि ज्ञान र इतिहासको स्रोतका रूपमा पुस्तकालय छाड्ने आफ्नो इच्छा आगजनीसँगै समाप्त भएको उनले बताइन्।

‘हामीसँग भएको विविध विषयका दसौँ हजार पुस्तकलाई व्यवस्थित गरी एउटा पब्लिक पुस्तकालयसमेत नयाँ पिढीलाई छोडेर जाने इच्छा थियो। तर आज यी सबै मेरा सपनाहरू पनि खरानीमा परिणत हुन गएका छन्,’ उनले भनिन्।

बालकोटको आगजनीलाई जेनजी पुस्ताको आन्दोलनसँग मात्र जोड्न नहुने दाबी गर्दै शाक्यले अरूकै षड्यन्त्रमा देश जलेको आरोप लगाइन्। घटनाको सम्झनाले आफूलाई अझै आक्रोशित बनाउने उनको अभिव्यक्तिबाट देखिन्थ्यो।

गत वर्षको घटनामा आफूहरूको ज्यानसमेत जान सक्ने अवस्था रहेको स्मरण गर्दै उनले आफूहरू संयोगले बाँच्न सफल भएको बताइन्।

‘गतसाल नै हामीलाई मारेको भए आज यहाँ कालो दिवसको साथसाथै हाम्रो मृत्युको वर्षगाँठ पनि तपाईंहरूले मनाइरहेको अवस्था हुन्थ्यो,’ उनले भनिन्, ‘संयोगले हामी बच्यौँ र सबैसँग भेट्ने अवसर जुट्यो, धेरै खुसी लागेको छ।’

एक वर्षपछि भग्नावशेष निवासमा पुगेकी शाक्यले भौतिक क्षतिभन्दा पनि नयाँ पुस्ताका लागि केही छाडेर जाने आफ्ना योजनाहरू अधुरै बनेको पीडा बढी सुनाइन्। जलेको घरको अवशेषबीच उनले संग्रहालयदेखि सार्वजनिक पुस्तकालयसम्मका आफ्ना सपना सम्झिँदा कार्यक्रमको वातावरणसमेत भावुक बनेको थियो।

प्रतिक्रिया