राजदूत प्रसङ्गमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यङ्ग्यात्मक पोस्ट भाइरल

   काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको व्यङ्ग्यात्मक पोस्ट यतिबेला व्यापक चर्चाको विषय बनेको छ। आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको संकेत गर्दै उनले शनिबार फेसबुकमार्फत गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस सुरु भएको हो।

प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा रोमन नेपालीमा लेखेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ?”

उनले उक्त अभिव्यक्ति कुन घटनालाई लक्षित गरेर दिएका हुन् भन्ने खुलेको छैन। तर पछिल्ला दिनहरूमा चर्चामा रहेको राजदूत नियुक्तिसम्बन्धी विषयलाई संकेत गर्दै प्रधानमन्त्रीले व्यङ्ग्य गरेको हुनसक्ने आकलन गरिएको छ।

प्रधानमन्त्रीको पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम ?” भन्दै प्रतिक्रिया जनाएका छन्। त्यस्तै भिक्टर पौडेलले “नाई फेरि उठाउन आउला पुलिस” लेख्दै थप व्यङ्ग्य गरेका छन्। यी प्रतिक्रियासमेत सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चाको विषय बनेका छन्।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित धारणा देखिएका छन्। केहीले यसलाई राजनीतिक संस्कार र नियुक्ति प्रक्रियामाथिको व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन् भने केहीले सरकार प्रमुखको सार्वजनिक अभिव्यक्ति अझ संयमित र जिम्मेवार हुनुपर्ने टिप्पणी गरेका छन्।

राजदूत नियुक्ति, राजनीतिक पहुँच र सार्वजनिक पदको मर्यादासम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्री शाहको यो पोस्टले थप चर्चा र चासो पैदा गरेको छ। पोस्ट सार्वजनिक भएको केही घण्टामै हजारौं प्रतिक्रिया प्राप्त भएको छ भने विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा यसबारे व्यापक बहस भइरहेको छ।

प्रतिक्रिया