सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारमा सकस, नेकपाभित्रै आकांक्षीको चाप

धनगढी, सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार खगराज भट्ट नेतृत्वको सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्रीकै दल नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि नेतृत्वलाई नाम टुंग्याउन सकस परेको बताइएको छ ।

सत्ता साझेदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने समझदारी बनेको थियो । एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसके पनि नेकपाले पाउने थप मन्त्रालयका लागि नाम टुंगिन सकेको छैन ।

तत्कालीन नेकपा एस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी पृष्ठभूमिबाट नेकपामा समाहित भएका प्रदेशसभा सदस्यहरूले समेत सरकारमा सहभागिताको दाबी गरिरहेका छन् । सीमित मन्त्रालय र आकांक्षीको ठूलो संख्याका कारण सबैलाई समेट्न नेतृत्वमाथि दबाब बढेको छ ।

यसैबीच, एमाले नेता राजेन्द्रसिंह रावलले पूर्वमन्त्री सुरेन्द्र पाललाई पुनः सरकारमा ल्याउन लबिङ गरेको चर्चा पनि नेकपाभित्र चलेको छ । रावल आफैं पनि मुख्यमन्त्रीको दौडमा रहे पनि केन्द्रको सहमतिअनुसार भट्ट मुख्यमन्त्री बनेका हुन् ।

तत्काल मन्त्री छनोट गर्दा पार्टीभित्र असन्तुष्टि बढ्न सक्ने भन्दै मुख्यमन्त्री भट्टले विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विकल्पमा समेत छलफल भइरहेको बताइएको छ । सरकार विस्तारमा देखिएको ढिलाइलाई भट्ट नेतृत्वको सरकारका लागि पहिलो राजनीतिक चुनौतीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया