भट्टको पहिलो परीक्षा विश्वासको मत, त्यसपछि सरकार विस्तार

धनगढी, भदौ २ — सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनसँगै मुख्यमन्त्री खगराज भट्टको पहिलो राजनीतिक परीक्षा नजिकिएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेसँगै सरकारको स्थायित्व परीक्षण हुन लागेको हो ।

मुख्यमन्त्री निवासमा सोमबार भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको छ । त्यसका लागि आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ ।

मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतका विषयमा आवश्यक निर्णय गरिनेछ । त्यसपछि भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिनुअघि नै भट्टले सरकारलाई पूर्णता दिने विषयलाई पनि प्राथमिकतामा राखेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

यसका लागि मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच छलफल भएको छ । त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मत र सरकार सञ्चालनका विषयमा छलफल भएको थियो ।

भट्टका लागि प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नु सरकारलाई औपचारिक रूपमा अघि बढाउने पहिलो चरण हुनेछ । विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीले भने सत्ता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको देखिन्छ ।

सरकार गठन भएको छोटो समयमै विश्वासको मत र मन्त्रिपरिषद् विस्तार दुवै प्रक्रिया अघि बढाउन खोजिएपछि अब नेकपा संसदीय दलको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ । बैठकले सरकारको आगामी राजनीतिक रणनीति र मन्त्री चयनबारे पनि थप स्पष्टता दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया