गढवा गाउँपालिकाको पुरानो ठेक्का प्रकरण अदालतमा, पूर्वअध्यक्षसहित ५ जना भ्रष्टाचार मुद्दामा तानिए

काठमाडौं, साउन २० — दाङको गढवा गाउँपालिकामा सात वर्षअघि भएको नदीजन्य पदार्थको ठेक्का प्रक्रिया अन्ततः भ्रष्टाचार मुद्दासम्म पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रियामा मिलेमतो गरी सरकारी राजस्वमा क्षति पुर्‍याएको निष्कर्षसहित गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७६/७७ मा वडा नम्बर १ र २ अन्तर्गत नदीजन्य पदार्थको सङ्कलन तथा निकासीका लागि गरिएको टेन्डरमा सगुन कन्स्ट्रक्सनलाई अनुचित रूपमा राजस्व छुट दिइएको अख्तियारको आरोप छ। यसबाट १ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सरकारी राजस्व गुमेको दाबी आयोगले गरेको छ।

मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का, कम्पनीका प्रतिनिधि विरास पुन तथा सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि, बुटवललाई प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार ठेक्का सम्झौता र राजस्व निर्धारण प्रक्रियामा मिलेमतो हुँदा राज्यलाई आर्थिक नोक्सानी पुगेको देखिएकाले बिगो असुल तथा प्रचलित कानूनबमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया