काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका केही विषयप्रति असन्तुष्टि जनाएपछि प्रतिवेदनमा महत्वपूर्ण संशोधन गरिएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरे पनि अध्यक्ष ओलीले विशेषगरी प्रतिवेदनमा रहेका दोस्रो र तेस्रो बुँदाप्रति आपत्ति जनाएका थिए। ओलीको असन्तुष्टि र निर्देशनपछि प्रतिवेदनमा मुख्य तीनवटा विषय थपघट गरी सम्पादन गरिएको हो।
सम्पादित प्रतिवेदनमा पार्टीले आगामी राजनीतिक परिस्थितिलाई सामना गर्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने विषय समेटिएको छ। प्रतिवेदनले २०८२ भदौ २३ र २४ का घटनापछि विकसित राजनीतिक परिस्थिति तथा २०८२ फागुन २१ को निर्वाचनसम्म आइपुग्दा बदलिएको राजनीतिक शक्तिसन्तुलनको समीक्षा गर्दै पार्टीलाई आन्दोलन र निर्वाचनका आगामी कार्यभारमा केन्द्रित गर्ने उल्लेख गरेको छ।
एमालेले संविधानलाई सहज संवैधानिक मार्गमा फर्काउने, लोकतान्त्रिक प्रणाली पुनर्वहाली गर्ने तथा पार्टीले गुमाएको जनमत फर्काउने विषयलाई पनि प्रमुख कार्यभारका रूपमा अघि सारेको छ। साथै आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा पार्टीको जीत सुनिश्चित गर्ने लक्ष्य प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा कार्यदललाई प्राप्त भएका १३ समूहका सुझावलाई कुनै थपघट नगरी हुबहु अनुसूचीमा समावेश गर्ने निर्णयसमेत गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार