हल्लाको पछि नलाग्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं, रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएका सूचनाप्रति बाढी पूर्वानुमान महाशाखाले ध्यानाकर्षण गराएको छ। महाशाखाले त्यस्ता सूचनाको कुनै आधिकारिक आधार नभएको स्पष्ट पारेको हो।

महाशाखाका अनुसार हालसम्मको सूचना र प्रारम्भिक विश्लेषणमा थप ठूलो बाढी आउने विश्वसनीय आधार देखिएको छैन। सम्बन्धित क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि तत्काल थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको जनाएको छ।

महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन नागरिकलाई आग्रह गरेको छ। अपुष्ट सूचना तथा हल्लाका कारण अनावश्यक त्रास फैलिन सक्ने भन्दै संयमित रहनसमेत आग्रह गरिएको छ।

नेपालतर्फ ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले जनाएको छ।

यस्तो अवस्था आएमा एसएमएसलगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र पूर्वसूचना प्रवाह गरिने महाशाखाले स्पष्ट पारेको छ।

प्रतिक्रिया