अन्तरिम रोक नलागेपछि मुख्यमन्त्री मगरलाई काम गर्ने बाटो खुला, बहुमतको विवाद भने कायमै
१६ भदौ २०८३, मङ्गलबार प्रकाशित
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री थापा मगरलाई तत्काल काम गर्न रोक लगाउने प्रयास असफल भएको छ। उच्च अदालतले मुख्यमन्त्रीको कामकारबाही रोक्न माग गरिएको अन्तरिम आदेश जारी नगरेपछि मगरलाई नियमित रूपमा सरकार सञ्चालन गर्ने बाटो खुलेको हो।
न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
मुख्यमन्त्री मगरले प्रदेशसभामा आवश्यक बहुमत नपु¥याएको दाबी गर्दै वाग्मती प्रदेशकी राप्रपा प्रमुख सचेतक कुमारी तामाङले रिट दायर गरेकी थिइन्। उनले अदालतबाट तत्काल अन्तरिम आदेश जारी गराएर मुख्यमन्त्रीका कामकारबाही रोक्न माग गरेकी थिइन्।
तर, अदालतले मन्त्रिपरिषद् गठन भइसकेको र प्रदेश सरकारले काम थालिसकेको अवस्थालाई मुख्य आधार मानेको छ। कार्यपालिका लामो समयसम्म निष्क्रिय वा शून्य अवस्थामा रहँदा प्रदेशमा तत्काल गर्नुपर्ने सरकारी काम प्रभावित हुन सक्ने अदालतको ठहर छ।
यससँगै अदालतले अहिले नै मुख्यमन्त्रीको कार्यकारी अधिकारमा हस्तक्षेप गर्न आवश्यक नरहेको संकेत गरेको छ। यद्यपि, यसको अर्थ मुख्यमन्त्री मगरको नियुक्तिसम्बन्धी विवाद पूर्ण रूपमा टुंगिएको भने होइन।
रिटमा उठाइएका संवैधानिक तथा कानुनी प्रश्नको अन्तिम निरूपण मुद्दाको अन्तिम फैसलाबाटै हुने अदालतले स्पष्ट गरेको छ। अर्थात्, अहिले अन्तरिम आदेश अस्वीकार भए पनि मुख्यमन्त्रीको नियुक्ति र बहुमतसम्बन्धी प्रश्न अदालतमा विचाराधीन नै रहनेछ।
मुद्दालाई भने अदालतले प्राथमिकतामा राखेको छ। विपक्षीहरूबाट लिखित जवाफ आएपछि अग्राधिकार दिएर सुनुवाइका लागि पेस गर्न आदेश दिइएको छ।
मुख्यमन्त्री मगर गत भदौ ४ गते नियुक्त भएका थिए। नियुक्तिको केही दिनमै उनको बहुमतलाई लिएर कानुनी प्रश्न उठे पनि तत्कालका लागि अदालतको आदेशले प्रदेश सरकार सञ्चालनमा अवरोध आउनबाट रोकेको छ।