काठमाडौं । तिहारमा देउसी–भैलो खेल्न अब समयको कुनै बन्देज नहुने भएको छ । गृह मन्त्रालयले परम्परागत सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन चौबिसै घण्टा देउसी–भैलो खेल्न दिने निर्णयसहित त्यसलाई व्यवस्थित बनाउन सातवटा सर्त अघि सारेको छ ।
मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तिहारका अवसरमा सञ्चालन हुने देउसी–भैलो कार्यक्रमलाई समयको सीमाबिना अनुमति दिन निर्देशन दिएको हो । तर, समयको छुट पाए पनि कार्यक्रम सञ्चालन गर्दा सामाजिक सद्भाव, सार्वजनिक शान्ति र व्यक्तिगत स्वतन्त्रतामा असर पर्न नहुने मन्त्रालयको जोड छ ।
निर्देशनअनुसार देउसी–भैलोमा सहभागी हुन वा नहुन व्यक्ति स्वतन्त्र हुनेछन् । दक्षिणा वा चन्दा दिन कसैलाई दबाब दिन पाइने छैन । सांस्कृतिक कार्यक्रमका नाममा जबर्जस्ती रकम उठाउने प्रवृत्तिलाई समेत निरुत्साहित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग र समुदायलाई लक्षित गरी घृणा वा द्वेष फैलाउने गीत, संगीत, नृत्य तथा नारा प्रयोग गर्न निषेध गरिएको छ । कार्यक्रमलाई अश्लील र अमर्यादित बनाउन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
चाडपर्वका नाममा हुने अवाञ्छित गतिविधिप्रति पनि मन्त्रालयले सचेत गराएको छ । देउसी–भैलो तथा तिहार मनाउने क्रममा जुवा र तास खेल्न नपाइने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला गर्न नहुने तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन नपाइने निर्देशनमा उल्लेख छ ।
ध्वनि प्रदूषण नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । देउसी–भैलो खेल्दा अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग गर्न पाइने छैन । अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेछ ।
मन्त्रालयले तिहारको मौलिक सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै पर्वलाई सुरक्षित, सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार